प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या : गएराति अस्पताल भर्ना, आजै डिस्चार्ज गरिने

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी आराम गरिहेका प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना गरिएको छ । उनको श्वास प्रश्वासमा समस्या देखिपछि बिहीबार राति साँढै १० बजेतिर त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले गए राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको जानकारी दिदै अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उनका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको यही फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए ।