७० करोड कमिसन प्रकरण : सञ्चारमन्त्रीको राजीनामादेखि अरु के–के भयो ?

काठमाडौँ(जस)– ७० करोड कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले उनको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताए । सभामुख सापकोटाले शहरी विकासमन्त्रीसमेत रहेका बाँस्कोटाको राजीनामा आइसकेको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरे पनि काँग्रेसका सांसद आसनबाट उभिइरहेपछि बैठक बिहीबारका लागि स्थगन गरिएको छ ।
नैतिकताका आधारमा राजीनामा दिए : गोकुल बाँस्कोटा
मन्त्री बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा बिहीबार पदबाट राजीनामा दिएको जनाएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै बिहीबार ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका छन् । उनले ट्वीटमा भनेका छन् ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।’ सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको चलखेलबारे जनसवाल दैनिकले निरन्तर समाचार प्रकाशन गरेको थियो ।

मिश्रलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखासमितिको निर्देशन
सार्वजनिक लेखा समितिले सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत सांसदहरु विरुद्ध भ्रामक समाचार फैलाएको आरोप लगाउँदै २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कार्वाही गर्न निर्देशन दिएको छ । बिहीबार समितिका सचिव रोजनाथ पाण्डेले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै विजय प्रकाश मिश्र र प्रकाशकिशोर उपाध्यायले सांसदहरुविरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कार्वाही गर्न निर्देशन दिएका हुन् ।
समितिमा छलफलका क्रममा रहेको सुरक्षण मुद्रण स्थापना सम्बन्धी विचाराधीन रहेको विषयलाई अनावश्यक रुपमा सांसदहरुसँग जोडेर भ्रामक समाचार फैलाएर र चरित्र हत्या गर्ने प्रयास गरेको आरोप समेत समितिले लगाएको छ । मिश्र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकरणमा एजेन्टका रुपमा देखिएका व्यक्ति हुन् । जोसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै मन्त्री बास्कोटाले मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् । सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत मिश्रलाई विज्ञको रुपमा बोलाइएको थियो ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारा दुवै सदन अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिला शुरु भएको बिहीबारको बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले काँग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । सांसद भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै सोबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन ।
उनले भनिन, “स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवाद बिहीबारको सञ्चारमाध्यमममा सार्वजनिक भएको छ । सञ्चारमन्त्रीले रु ७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरङ्गीत भएको छ, यसमा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही गर्छु भन्नुभएको थियो । अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ ।”
सञ्चारमन्त्रीको बर्खास्तीले मात्र काँग्रेस चुप लागेर नबस्ने बताउँदै सांसद भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनीसमेत दिइन । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने बताइन । सभामुखले मन्त्री बाँस्कोटाको राजिनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको र बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न पटकपटक आग्रह गरे पनि काँग्रेसका सांसदहरु उभिरहेपछि बैठक स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उनको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ । सोही माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको बिहीबारको बैठक अवरुद्ध गरे । सभाको बिहीबारको बैठक शुरु हुनेबित्तिकै काँग्रेस सांसदले उठेर विरोध जनाउनुभएको थियो ।
सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदलाई बस्न पटकपटक आग्रह गरे पनि उठेर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले दिनुभएको समयमा काँग्रेसका जीतेन्द्रनारायण देवले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने प्रतिबद्धता जनाए पनि उन निकटका मन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा रु ७० करोडदेखि ७५ करोडसम्म कमिशन मागेको’ भन्दै त्यसको निष्पक्ष छानबिन नभएसम्म संसद् चल्न नसक्ने बताएका थिए ।
काँग्रेसले अविलम्ब सञ्चारमन्त्रीलाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्र्न र सो घटनाका विषयमा संसद्लाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेको छ । अध्यक्ष तिमल्सिनाले पटकपटक बस्न आग्रह गरे पनि काँग्रेस सांसदले उठेर विरोध जनाएपछि बैठक यही फागुन १५ गते बिहीबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।

नेविसंघ आन्दोलनमा, प्रहरीद्धारा लाठीचार्ज
७० करोड कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुन दायरामा ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
काठमाडौंकोस्थित प्रदर्शनी मार्गमा भएको आन्दोलनमा प्रहरीको लाठी चार्जबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायतलगायत दर्जन बदी नेता कार्यकर्ता घाइते भएका छन् ।
नेबिसंघ त्रिभुवन विश्वविद्यालय समितिका इकाइ सचिव योगेन्द्र रावलका अनुसार उनीहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । जसमा महामन्त्री थपलिया गम्भीर घाइते भएको उनले बताए । बिहीबारै अपरान्ह काठमाडौँको त्रिभुवन विमानस्थलको मूल द्वारमा नेपाली विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थीहरु घाइते भएका थिए । घाइते विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको थियो ।
शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको काँग्रेसले बताएको छ । यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको काँग्रेसले बताएको छ । यस घटनाको नेपाली काँग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न नेपाली काँग्रेस माग गरेको छ । नेविसंघको माउ पार्टी प्रतिपक्षी दल काँग्रेसले संघीय संसदका दुवै सदन अवरुद्ध पारेको छ । काँग्रेसले बाँस्कोटाको बर्खास्तसँगै प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र बाँस्कोटालाई कानुनी कारबाही गरिनुपर्ने माग गरेको छ । यी तीन वटा माग पूरा नभएसम्म संसद चल्न नसक्ने काँग्रेसले स्पष्ट पारेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई
राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा खतिवडालाई कार्यभार तोकेकी हुन् । यस्तै बाँस्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् ।