पूर्वसभामुख र पूर्वउपसामुखलाई एकैदिन जुरेको संयोग : महरालाई सफाई, तुम्बाहाङ्फेलाई मन्त्री पद

मुलुकको स्वाधीनता रक्षा पहिलो प्राथमिकता : महरा
काठमाडौं(जस)–जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा सफाइ दिएपछि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा जेलमुक्त भएका छन् । काठमाडौँको डिल्लीबजारस्थित कारागारबाट महरालाई मुक्त गरिएको हो । कारागार मुक्त भएपछि महरालाई उनका समर्थकले माला लगाएर स्वागत गरेका थिए । महरालाई पूर्वआइजिपी रमेशचन्द्र ठकुरी, रन्जन कोइराला, निलम्बित सांसद रेशम चौधरीलगायतले कारागारबाट पूर्वसभामुख महरालाई बिदाइ गरेका छन् । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएसँगै उनी ललितपुरस्थित् आफ्नो निजी निवासतर्फ प्रस्थान गरेका छन् ।
डिल्लीबजार कारागारबाट रिहाई हुँदा उनलाई नेकपाका कार्यकर्ताहरुको ठूलो संख्याले फूलमाला लगाएर स्वागत गरेको थियो । महराले संक्षिप्त कुराकानी गर्दै आफूलाई कारागारमा सबैबाट राम्रो व्यवहार भएको बताएका थिए । सोमबार मुद्धाको फैसला गर्दै महरालाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाई दिएको थियो । बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
यसअघि आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको थियो । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो । संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।
निवर्तमान सभामुख महराद्वारा आभार प्रकट
संघीय संसद् सचिवालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गरेका छन् । अदालतको आदेशसँगै डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सोमबार एक वक्तव्य जारी गर्दै उनले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको भन्दै आभार व्यक्त गरेका हुन् ।
‘यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्य, मित्र, मेरो पक्षमा वकालत गर्ने कानून व्यवसायी र राजनीतिक व्यक्तित्वप्रति आभार प्रकट गर्दछु’, महराद्वारा जारी वक्तव्यमा भनिएको छ । एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता गौरवपूर्ण रहिरहने टिप्पणी गरेका छन् । संसद् सचिवालयको कर्मचारी माथि दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उहाँले आजैै पदभार ग्रहण गरेकी हुन् ।
पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरिन । सो अवसरमा उनले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । यसअघि तुम्बाहाङ्फे प्रतिनिधिसभाको उपसभामुख थिइन । विसं २०२० मा जन्मेकी नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । उनले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गरेकी थिइन ।
मन्त्री तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएको बताएकी छिन् । पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताएकी हुन् ।
उपसभामुखबाट राजीनामा दिएपछि कानून मन्त्रालय दिने योजना सहमति भएको थियो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले कुनै योजनाबद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताएकी हुन् । ‘यो लिने दिने चिज होइन् । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उनले भनिन् ।
उपसभामुख पदमा रहेका काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफु बाहिरिएको बताइन् । ‘गत माघमा राजीनामा दिँदै गर्दा आफुले युटर्न गर्छु भनेको थिए । त्यसैअनुसार मन्त्रालयको जिम्मेवारीमा आए, जिम्मेवारी निर्वाह गर्दा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उनले भनिन् । उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएकी छिन् ।