सभामुखमा सापकोटाको एकल उम्मेदवारी, निर्विरोध भएको घोषणा भने १२ गतेमात्र हुने

काठमाडौँ(जस)–प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सभामुख निर्वाचनका लागि मनोनयन दर्ता गर्न तोकिएको समयभित्र उहाँको मात्र उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । नेपाली काँग्रेसको संसदीय दलको बैठकले सभामुख निर्वाचनका लागि आफ्नो पार्टीबाट कुनै उम्मेदवारी नदिने निर्णय गरेको थियो । निर्धारित समयभित्र एक जनाको मात्र उम्मेदवारी परेपछि संसद् सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । सभामुखको निर्वाचन यही माघ १२ गते हुँदैछ ।

सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आजै नेता सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ हुनुहुन्छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।