नेपाली राजदूतावास कतारलाई चार संस्थाहरुको संयुक्त सुझावपत्र (सुझावसहित)

कतार(जस)–नेपाली राजदूतावास कतारलाई कतारमा क्रियाशील चार संस्थाहरुले संयुक्त सुझावपत्र बुझाएका छन् । नेपाली समाज कतार, नेपाली जनसम्पर्क समिति कतार, प्रवासी नेपाली एकता मञ्च कतार र गैरआवासीय नेपाली संघ कतारजस्ता अग्रपक्तिका सामाजिक संघसंस्थाहरु मिलेर विशेष छलफल गरी नेपाली राजदूतावास कतारमा महामहिम राजदूत समक्ष नेपाली श्रमिकहरुका समस्या तथा समसामयीक विषयहरुको सन्दर्भमा संयुक्त सुझाव पत्र पेश गरेका छन । नेपाल सरकार परराष्ट मन्त्रालय, नेपाल कम्यूनिष्ट पार्टी, नेपाली काँग्रेस, समाजवादी पार्टि, गैरआवासीय नेपाली संघलगायत समेतलाई बोधार्थ उल्लेख गरिएको छ ।
(१) भिषा तथा श्रम स्विकृतिमा देखिएको भिन्नताले धेरै श्रमिकहरु अप्ठेरोमा परेकोले नेपाल सरकारले विदामा गएकाहरुको हकमा भिषा र श्रम स्विकृति साविकमा जसरी दिइएको छ त्यसैगरी आउन दिने व्यवस्था गरियोस । तर नयाँ स्वीकृति दिने विषयमा भने अहिले गरेको निर्णयलाई नै यथावत राख्दा उचित हुन्छ । विशेष गरी तत्काललाई ड्राइभर भिषामा आएर टेक्निसियन, सेल्स, लेखा क्षेत्रमा काम गरिरहेकाको हकमा यो समस्या टड्कारो रुपमा देखिएको छ ।

(२) वैदेशिक रोजगारीमा आउदा गरिने श्रम स्वीकृतिको समयमा हरेक पटक इन्सुरेन्स वापतको रकम श्रमिकले ३ वर्षको तिर्नुपर्दछ । कतारको हकमा श्रमस्वीकृति २ वर्षको लागि दिइने गरेको छ तर इन्सुरेन्सको प्रिमियम ३ वर्षको तिर्नु पर्दछ । एक पटक श्रम स्वीकृति लिएर आउदा विमा ३ वर्षको हुने तर श्रम स्वीकृति २ वर्षको लागि मात्र हुने भएकोले पहिलो चरणको सम्झौता पुरा गरी विदामा गएर पुन आउनु पर्दा बिमा अवधि १ वर्ष बाँकी भए पनि पुन बिमा नविकरण नगरी श्रम स्वीकृति दिइदैन । यसो गर्दा कामदारले विमा वापत थप बोझ श्रृजना भएको विषयलाई सरकारले निर्णय गरी समाधान गरियोस ।

(३) वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुकमा जागिर लगाईदिने आश्वासन दिएर मेनपावर कम्पनी वा तीनका एजेन्टहरुसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाएर पठाउने सेटिङ अन्त्य गरियोस ।

(४) खाडी मुलुकहरुमा कुनै किसिमको आजाद भिषा हुँदैन । तर अझै पनि आजाद भिषाको नाममा ठगी धन्दा चलाएर मोटो रकम असुली गरी मान्छे पठाएर अलपत्र पार्ने जो कोहि भए पनि कडा भन्दा कडा कार्वाहि गरियोस ।

(५) खाडी राष्ट्रहरुमा निर्माणका परियोजनाहरु पुराहुने चरणमा छन । अब यहाँ ब्लु कलर जब को भन्दा पनि ह्वाइट कलर जब सम्भावना बढेर गएका हुनाले नेपाल सरकारले पनि आफ्नो श्रम ऐनमा ह्वाइट कलर जब मा जानेहरुको हकमा ब्लु कलर जब मा जानेहरुको लागि जस्तो कडा नियम नबनाई समय सापेक्ष खुकुलो अवधारणा ल्याउन आवश्यक छ । किनकि ह्वाइट कलर जब लाई ब्लु कलर जब जस्तो पूर्व स्वीकृति लिएर माग प्रमाणिकरण गर्न रोजगारदाता कम्पनीहरुले चाहदैनन । त्यसर्थ प्राविधिक काम र कार्यलय स्तरको इनडोर कामको लागि हामीले फरक अवधारणाबाट सोच्न जरुरी छ ।

(६) कतारमा भएका सार्वजनिक ठाँउहरुमा कतिपय अवस्थामा हामी नेपालीहरुले नै आफ्नो संस्कार पद्धति भूलेर उछृंखल गतिविधिहरु गरेको पाइएको हुनाले यस्ता गतिविधिहरु रोक्न दुतावास, सामाजिक तथा वैचारिक संघ संस्थाहरुले संयुक्त कार्यक्रमहरु संचालन गर्नु पर्ने ।

(७) कतारमा नेपाली कला साहित्य, संस्कृतिलाई जगेर्ना गर्न नेपाली दूतावासको संरक्षकत्वमा नेपाली समुदायको सहभागितामा एक सास्कृतिक केन्द्र स्थापना गरिनु पर्ने ।

(८) नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने हाम्रो पनि दायित्व हो । हामी जुन ठाँउमा छौं त्यहि ठाँउका पर्यटकहरुलाई नेपाल जान उत्प्रेरित गर्ने हो । खाडी मुलुकमा मुश्लिम धर्मालम्बिहरु रहेको हुनाले उनिहरुले उपयोग गर्ने खाना तथा रहनसहनमा ध्यान दिन जरुरी हुन्छ । विशेष गरी खाडी मुलुकका पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा हलाल गरेका खाना सहज उपलब्ध हुने व्यवस्था गर्न सकिएमा पर्यटकहरुको नेपाल भ्रमण सहज हुने थियो ।

(९) प्रवासी नेपालीहरुलाई राष्ट्रियरुपमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न सर्वोच्च अदालतले नेपाल सरकारलाई दिएको निर्देशन यथाशिघ्र कार्यान्वयनमा ल्याउनको लागि अनुरोध गर्दछौ ।

(१०) नेपाल कतार बीचको श्रम सम्झौतालाई समय अनुकुल बनाउँदै लैजानु पर्ने र न्यूनतम पारिश्रमिकमा बृद्धि गर्दै लैजानु पर्ने ।

(११) कतार सरकारले भारत पाकिस्तान लगायतका मुलुकका नागरिकहरुलाई अनअराइभल भिषा उपलब्ध गराउन थालिसकेको अवस्थामा नेपाली नागरिकहरुको हकमा पनि यसको लागि पहल गर्न अनुरोध गर्दछौ ।

(१२) भारतले नेपाली भुमी कालापानी लिपुलेक, लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको समाचारले प्रवासी नेपाली दुखित र चिन्तत छन त्यसर्थ नेपाल सरकारले कुटनीतिक पहल मार्फत हाम्रो भुमी माथि भारतीयको गिद्धेनजर हटाउन लगाइ उल्लेखित भूमी सहित सीमा माथिको विवाद साम्य पारियोस ।