उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशित, प्रतिनिधिसभा र प्रदेशसभामा ६४ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं (जस)–आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नुहुनेभएको छ । यस्तै बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोे आयोगले जनाएको छ ।
उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्छ
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् । खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आइतबार आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी गरे । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि योपटक घटाएको बताउँदै उनले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए । मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाध्यक्षका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।
कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार
कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका महेन्द्र सुवेदीले जानकारी गराए । निर्वाचन अधिकृतको कार्यालयले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।
सो अनुरुप, कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस (विपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ छन् ।
त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट श्रीमती गङ्गा मल्ल छन् ।यस्तै स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनु भएका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला छन् । त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन् ।
काङ्ग्रेसद्वारा समिति गठन
काठमाडौँ(जस)–नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको तयारीका लागि ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ । काङ्ग्रेसले पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आइतबार सो समिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य छन् । समितिको सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहनुभएको पार्टी कार्यालयले जनाएको छ ।
समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने, उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने कार्यक्षेत्र तोकिएको छ ।
यसैगरी उपनिर्वाचनमा उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण र समन्वय गर्ने गराउने, पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीको पक्षमा प्रचार प्रसार गर्न र मतदान उत्प्रेरित गर्ने, मतगणनालगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने तथा पार्टीको उम्मेदवार र सदस्यहरुबाट निर्वाचन कानून र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने लगायतका कार्यक्षेत्र तोकिएको पार्टी कार्यालयले जनाएको छ ।