ज्योति पक्राउको घटनाले निजी क्षेत्र प्रोत्साहित नहुने : महासंघ, आफुविरुद्ध षडयन्त्र भएको ज्योतिको जिकिर

काठमाडौं(जस)–उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री रूप ज्योति पक्राउ परेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति निकाल्दै मुलुकभित्र उद्यमशीलताको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउंदै आएको प्रमुख औद्योगिक एवं व्यवसायिक क्षेत्रका उद्योगपतिलाई स्वदेश फर्कने क्रममा पक्राउ गरी हिरासतमा लिएपछिको अवस्थाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले भनेको छ, ’मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलोमात्रामा राजस्व समेत बुझाउंदै आएको मुलुकका प्रतिष्ठित उद्योगपति माथि विना सोचविचार हतारहतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था छ ।’
महासंघले उद्योगी–व्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघ जोडदार माग गरेको छ । महासंघको आइतबार बसेको स्थायी समिति बैठकपछि यो विज्ञप्ति जारी भएको हो । स्थायी समिति बैठक सकिएपछि महासंघको प्रतिनिधीमण्डल ज्योतिलाई भेट्न महानगरिय प्रहरी वृत्त दरबारमार्ग पुगेका थिए । महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ पुगेका थिए । यस्तै नेपाल चेम्बर अफ कमर्शलगायत अन्य संघ संस्थालेसमेत ज्योति पक्राउको कडा विरोध जनाएका छन् ।
षडयन्त्र भयो ः ज्योति
ठगी अभियोगमा पक्राउ परेका व्यवसायी रुपज्योतिले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । उनले आइतबार काठमाडौं जिल्ला अदालतमा आफू निर्दोष रहेको जिकिर गरेका हुन् । प्रहरीले गत बिहिबार विमानस्थलबाटै पक्राउ गरेका कंसाकारलाई दोस्रोपटक म्याद थपका लागि अदालत ल्याएको थियो । न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सो क्रममा उनले आफूलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको भन्दै आफूलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका थिए । ज्योतिले लाई कुन अभियोगमा हिरासतमा राखियो भनेर प्रश्नसमेत गरेका थिए ।
ज्योतिले पक्राउ पुर्जी जारी भएको थाहा पाउँदा पाउँदै आफू नेपाल आएको, आफूमाथिको अभियोगसँग सम्बन्धित प्रमाण समेत नष्ट गर्ने सम्भावना नरहेको र देश छोडेर भाग्ने पनि नभएकाले आफूलाई हिरासतमा राख्नुपर्ने अवस्था नभएको जिकिर गरेका थिए । ज्योति परिवारको इज्जतमा बलात्कार भएको दुखेसो पनि उनले पोखे । त्यस्तै, उनले आफू संलग्नै नभएको कम्पनीको कारोबारमा ज्योति परिवारका ११ जनाविरुद्द उजुरी दिएको भन्दै उजुरीकै आधारमा हिरासतमा राख्ने हो भने भोलि अरु व्यवसायीमाथि पनि यस्तो हुनसक्ने बताए । आफूले ठगेको भनेको रकम अदालतमा जम्मा गरिसकेकाले ठगी गरेको भन्ने आधार पनि नभएको उनको दाबी थियो । ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । तर, उनकी छोरी सुरुची भने उपचारका लागि अस्पताल भर्ना भएकी छन् ।
रुपज्योतिले आफूसँग विवाद मिलाउन भन्दै ५ करोड मागिएको पनि इजलाशसमक्ष बताए । प्रहरीले ज्योतिको कल डिटेल हेर्नुपर्ने, ठगी गरेको कम्पनीको आधिकारिक दस्तावेज लगायतबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै दोस्रो पटक म्याद थपका लागि अनुमति मागेको थियो । जिल्ला न्यायाधीश अर्यालले मुद्दा अदालतमा नआइसकेकाले ज्योतिको बयानकै आधारमा अदालतले आदेश गर्न नमिल्ने, ज्योतिले आफ्ना कुरा बयानका क्रममा अनुसन्धान अधिकारीसमक्ष राख्न्ुपर्ने फौजदारी न्यायको सिद्धान्त स्मरण गराएका थिए । न्यायाधीश अर्यालले थप ५ दिन अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएका छन् ।