शीर्ष राजनीतिक नेतृत्वको सहभागितामा काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न

काठमाडौं(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए । कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको थियो । शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरेका थिए ।
चियापान व्यवस्थित भन्दै प्रशंसा
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरु, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायत हजारौँको उपस्थिति थियो ।
कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा पार्टीका झण्डा, ब्यानरसहित सजिसजाउ गरिएको थियो । आमन्त्रित अतिथिहरुको लामो लाइन भए पनि शुभकामना आदानप्रदान र चियापानका लागि उचित प्रबन्ध गरिएको थियो । अतिथि एवं नेता कार्यकर्ताको लाइन व्यवस्थापन गर्न प्रवेशका लागि पश्चिम ढोका र बाहिरिनका लागि पूर्वी ढोकाको प्रयोग गरिएको थियो । त्यस्तै सञ्चारकर्मीका लागि रिर्पोटिङ गर्न तथा तस्बीर र भिडियो खिच्नका लागि छुट्टै स्टेज र शीर्ष नेतालाई शुभकामना मन्तव्य दिनसमेत छुट्टै माइक स्टेजको व्यवस्था गरिएको थियो । कार्यक्रममा आमन्त्रितहरुले यो पटक काङ्ग्रेसले चियापान कार्यक्रम निकै व्यवस्थित गरेको भनी प्रशंसासमेत गरेका थिए ।
कार्यक्रममा ५० बढी पिन्ट रगत सङ्कलन
चियापान कार्यक्रमकै अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका ५० भन्दा बढी नेता कार्यकर्ता एवं सर्वसाधारणले स्वतःस्फूर्त रुपमा रक्तदान गरेका थिए ।
काङ्ग्रेसले आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा चियापान समारोह आयोजना गरेको थियो । सिन्धुपाल्चोकमा भने शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा
काठमाडौं(जस)–ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् । काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भेटघाटले राजनीतिक रुपमा जतिसुकै मतभेद भएता पनि भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने संस्कृत विकास भएको बताए ।
सञ्चाकर्मीको जिज्ञासामा सभापति देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध अझ घनिष्ठ भएको बताउँदै राष्ट्रपति सीसँगको आफ्नो भेटमा काङ्ग्रेसले सदैव एक चीन नीति स्वीकार गरेको तथा चीनको खिलापमा नेपालको भूमि प्रयोग हुन नदिने विषयमा नेपाल प्रतिबद्ध रहेको आफूले सुनाएको उल्लेख गरे ।
भेटमा नेपालको विकासमा चीनले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरेको सुनाउँदै सभापति देउवाले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेको र समय मिलाएर चीन भ्रमणमा जाने उल्लेख गरे । विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न दिन्नौँ : प्रधानमन्त्री
काठमाडौं(जस)–ः प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखिको लोकतन्त्रको सहयात्राले प्रमुख दलहरुका बीचमा गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोेकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्ता पर्वका अवसरमा हुने भेटघाटले परिवार र नातागोताका बीच तथा राजनीतिक दलका बीचमा पनि कटुता छ भने त्यसलाई समाप्त पार्न सक्छ भने । उनले भने, “अहिले त हामी बीच राम्रो सम्बन्ध छ, शेरबहादुर देउवाजी र म विगत ४५ वर्षदेखिका साथी हौँ, हामीसँगै जेल बसेका छौँ, लोकतन्त्र प्राप्तिका लागि सँगै लडेका छौँ, त्यसैगरी रामचन्द्र पौडेलजी लगायतका काङ्ग्रेसका नेताहरु पनि त्यसैबेलाका देखिका साथी हौँ ।”
चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले आफूहरु बीच गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोकतन्त्रका लागि सँगै लड्ने र लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता रहेको प्रधानमन्त्री ओलीले बताए । “हाम्रो सम्बन्ध राम्रो छ, बिग्रियो भने पनि यस्ता चाडबाडले सम्बन्धलाई सुमधुर बनाउँछ”, उनले भने । यस्ता चाडपर्व र संस्कृतिले हाम्रो समाजमा आपसी सम्बन्ध सुदृढ बनाउने कुरामा सहयोग गर्ने बताउँदै उनले यस्ता परम्परालाई निरन्तरता दिनुपर्ने बताए । विसं २०३३ मा काङ्ग्रेसका संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ ।

काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताएका छन् । काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताए । उनले भने, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।”
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उनले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भने । “अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भने । राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उनको भनाइ थियो । “असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भने ।
सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महाअभियान, त्यतिबेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भने । विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ ।