नेपाललाई भूजडित बनाउन चीनले मद्दत गर्छ : राष्ट्रपति सी चिनफिङ

काठमाडौँ, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन । राष्ट्रपति भण्डारीले भनिने, ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ ।’ उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन ।
राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताइन । चिनियाँ राष्ट्रपति सी उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन । ‘महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरु अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचारविरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाका महत्वपूर्ण आयामहरु हुन् । विश्वका १५० भन्दा बढी राष्ट्रहरु तथा दर्जनौँ सङ्घसंस्थाहरु बेल्ट एण्ड रोड इनिसिएटिभको पक्ष बनेका छन् । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको छ भन्ने मलाई लागेको छ’। राष्ट्रपति भण्डारीले भनिन् ।
नेपाललाई भूजडित बनाउन चीनले सघाउने
प्रत्युत्तरमा राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताए । उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए । नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरे ।
‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ’, उनले भने । चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताए । उनले भने, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।’
शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गरे । विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उनले व्यक्त गरे । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरुमा विचार आदानप्रदान गर्ने बताए ।
सीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यताको अध्ययनको प्रक्रिया सुरु गर्ने घोषणा गरे । यस्तै अरनीको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नती गर्ने तथा केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गलाई अघि बढाउन पनि चिनियाँ सरकार सक्रिय रहेको जानकारी दिए । राष्ट्रपति सीले नेपालसँगको बढीभन्दा बढी सीमा नाका खोल्न पनि चीन तयार रहेको बताए । नेपालको राजीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा निकै हर्षित भएको बताउँदै सम्बोधनका क्रममा सीले भने, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणमा म नेपालमा आएको छु । यो मेरो कान्तिपुरी काठमाडौँको पहिलो भ्रमण हो । यहाँ मेरा नयाँ र पुराना साथीहरुसँग भेट भइरहेको छ । नेपालको राजीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म निकै हर्षित भएको छु ।’
चीन र नेपालबीच दोहोरो सम्बन्ध स्थापना भएको आधा शताब्दीभन्दा बढी अवधिमा दुई देशले छिमेकी मुलुकहरुबीच मैत्रिपूर्ण सम्बन्धको विश्वभर नमुना पेश गरेको पनि सीले बताए । चीन र नेपालको सम्बन्धमा कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि सीले बताए । उनले अगाडि भनेका छन्, ‘सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी र मैले दुई पक्षले चुनौति र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धि तर्फ उन्मुख हुने पुस्तौँपुस्ताको मैत्रिपूर्ण सम्बन्ध र रणनीतिक साझेदारी गर्ने सम्बन्ध स्थापना गर्ने निर्णय गरेका छौँ ।’ यसले दुई देशबीच अझ सहज कनेक्टिभीटी सञ्जाल निर्माण हुने उनले विश्वास गरे । दुई दिने भ्रमणको क्रममा सी शनिबार नेपाल भ्रमणमा आएका हुन् ।