सभामुुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी

काठमाडौँ(जस)–सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उनले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिएका थिए ।उपसभामुख डा शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवलयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय बिहिबार सूूचनापत्रमार्फत जानकारी गराएको हो । सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिए ।
“विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा बिहिबारैका मितिदेखि राजीनामा दिएको छु”, महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उद्धृत गर्दै सूचनापत्रमा भनिएको छ ।रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ । त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ । दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ । यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित भएका थिए भने उपसभामुख पदमा मतदान भएको थियो । अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुखले भनिन्, “नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।”

महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ : कानूनविद्
कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबमा बिहिबार आयोजित साक्षात्कारमा उनहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएको बताए । नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले संसद्मा घटेको अनौठो घटनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानून तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताए । उनले पीडितले मौखिक सूचना दिइसकेकाले महरामाथि फौजदारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पारे । संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले पीडितको सूचनाका आधारमा महरामाथि अनुसन्धान शुरु गर्नुपर्ने र निर्दोष ठहरिए पुनः सांसद हुने नाताले नयाँ सभामुखको निर्वाचनमा उम्मेदवार बन्न पाउने बताए । उनले अनुसन्धानका क्रममा प्रमाण नपुगेको अवस्थामा प्रहरीले त्यो मुद्दालाई तामेलमा राख्नसक्ने अथवा महान्यायाधिवक्ताले मुद्दा चल्न नसक्ने भनी निर्णय गर्नसक्ने बताए ।
ज्ञवालीले पीडितले जाहेरी नदिए पनि अनुसन्धान प्रक्रिया नरोकिने बताउँदै बलात्कार भएको पुष्टि भए १५ वर्ष, सामान्य भए तीन वर्ष तथा कुटपिट गरेको ठहरिए एक वर्ष कैद सजाय हुने व्यवस्था रहेको जानकारी दिए । नेपाल बार एसोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले महराका साथै पीडितको पक्षमा पनि अनुसन्धान गर्नुपर्ने बताए । पीडित महिलाले महराको चरित्र हत्या गर्ने मनसायले त्यस्तो अभिव्यक्ति दिएको हो भने ती महिलामाथि पनि अनुसन्धान गरी साइबर क्राइमको मुद्दा चलाउन सकिने उनको भनाइ थियो । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।