लोकतन्त्र संस्थागत गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : भट्टराई

गोरखा पत्रकार मञ्चको दसैं, दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ(जस)– समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रलाई संस्थागत गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
गोरखा पत्रकार मञ्चले मंगलबार राजधानीमा गरेको दसैं, दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भट्टराईले प्राप्त उपलब्धीलाई गुमाउने कल्पना पनि गर्न नसकिने भएकाले लोकतन्त्रको रक्षार्थ सञ्चारमाध्यमको भूमिका हुनुपर्ने बताए।

उनले सञ्चारमाध्यमले रचनात्मक आलोचनाको भुमिका निर्वाह गर्नुपर्ने भन्दै दलगत राजनीतिबाट टाढा रहेर जिल्लामा भ्रष्टाचार तथा अनियमितताविरुद्ध आवाज उठाउन र सुशासनका पक्षमा कलम चलाउन पनि सुझाव दिए।

भट्टराईल जिल्लाको पूर्वाधार निर्माण, बुढीगण्डकीजस्तो राष्ट्रको गौरवका आयोजना, जिल्लाका ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक पर्यटकीय स्थल जोड्ने सर्किट निर्माणको पहलका लागि पनि पत्रकारले आवाज उठाउनुपर्ने बताए।

गोरखा १ का सांसद हरिराज अधिकारीले पर्यटकीय हिसाबले मात्र नभई भौगोलिक, सांस्कृतिक हिसाबले पनि गोरखाको विकास गर्न सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताए।
त्यसअवसरमा नेकपा केन्द्रीय सदस्यहरू चुडामणि खड्का तथा लेखनाथ न्यौपाने, नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्त, प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीलगायतले बोल्दै जिल्लाको विकासका लागि दलगत स्वार्थभन्दा माथि रहेर सञ्चारमाध्यम तथा पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।