युरो कप छनोट : नेदरल्याण्ड्स, बेल्जियम र जर्मनीको प्रभावशाली जित

काठमाडौं(एजेन्सी)–युरो कप छनोटअन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले ठूलो अन्तरको जित हात पारेका छन् । बेल्जियमले स्कटल्याण्डलाई ४–० ले हरायो भने नेदरल्याण्ड्सले इस्टोनियालाई पनि ४–० ले नै हरायो । स्कटल्याण्डको मैदानमा भएको खेलमा केभिन डी ब्रुयनले उत्कृष्ट प्रदर्शन गरे । उनले तीनवटा एसिस्ट र एक गोल गरेका थिए । नवौं मिनेटमा रोमलु लुकाकुले गोल गरेका थिए । २४औं मिनेटमा थोमस भर्मा्लिनले र ३२औं मिनेटमा टोबी एल्डरवेरल्डले गोल गर्दा पहिलो हाफअघि बेल्जियमले तीन गोलको अग्रता लिएको थियो ।
यी तीनवटै गोलमा केभिन डी ब्रायनको एसिस्ट थियो । ८२औं मिनेटमा डि ब्रुयनले लुकाकुको पासमा गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए । अर्को खेलमा नेदरल्याण्ड्सले इस्टोनियालाई ४–० ले नै हरायो । इस्टोनियामा भएको खेलमा नेदरल्याण्ड्सका लागि रायन बाबेलले दुई गोल गरे भने मेम्फिस डिपेले दुई एसिस्ट र एक गोल गरेका थिए । १७औं मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए ।
दोस्रो हाफको दोस्रो मिनेटमा बाबेलले नै नेदरल्याण्ड्सको अग्रता २–० मा लम्ब्याए । ७६औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–० को अग्रता दिलाए । ८७औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गरेपछि नेदल्याण्ड्सले ४–० को जित निकालेको हो । त्यस्तै जर्मनीले उत्तरी आयरल्याण्डलाई हराएको छ । उत्तरी आयरल्याण्डमा भएको खेलमा जर्मनीले दोस्रो हाफमा दुई गोल गर्दै जित हात पारेको हो । जर्मनीको जितमा मार्सेल हाल्स्टेनबर्गले ४८औं मिनेटमा र सेर्जी ग्नाब्रीले इन्ज्युरी समयमा गोल गरेका थिए ।